‘देउवा गिरोह र गुटको मात्रै सभापति’

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको आरोप लगाएका छन् ।

सभापति देउवाले विधान लत्याउँदै अगाडि बढेका कारण पार्टीभित्र सहमति र सहकार्यका लागि अवरोध सिर्जना भएको सिटौलाले बताए ।

सभापति देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे, ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला सभापति र रामचन्द्र पौडेल कार्यबाहक सभापति हुँदा तपाइँलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाइँ सभापति हुदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन कस्ले रोक्यो ? तपाई को हो पाटीभित्र जमिन्दारी प्रथा चलाउन खोज्ने?’

जिपी फाउण्डेशन प्रदेश–१ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै सिटौलाले सभापतिको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापति नहुन देउवालाई चेतावनी दिए ।

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले कम्युनिष्टसंग लड्नुपर्ने समयमा सभापतिकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताए ।

डा. कोइरालाले सभापति कांग्रेसको घरमुली भएको बताउँदै घरभित्रको फरक विचार र असन्तुष्टिको संवोधन गरेर सबैलाई सँगै हिडाउने काम देउवाकै भएको बताए ।

नेपाली कांग्रेसको ईतिहासमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले भने, ‘अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ती दुर्भाग्य हो ।’

कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापति गोविन्द ढुंगाना, धनकुटा कांग्रेसका सभापति अग्नीप्रसाद पौडेल, सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ् लगायतले बोलेका थिए ।

कार्यक्रममा आयोजकले सिटौला र डा कोइरालालाई एकै माला लगाइदिएर पार्टी भित्र मिलेर एकता कायम गर्न आग्रह गरेका थिए ।