पार्टी विधिअनुरुप चल्न नसक्दा नै अहिलेको विवाद : नेता केसी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टी विधि विहीनताको अवस्थामा पुगेको बताएका छन् । उनले पार्टीलाई विधिसम्मत सही ढंगले सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले पार्टी विधि अनुरुप चल्न नसक्दा नै अहिलेको विवाद आएको बताए ।

‘पार्टी विधिअनुसार चल्नु पर्छ भन्दा अहिलेको विवाद हो । नेतृत्वले यो कुरा सुन्नेवित्तिकै विवाद अन्त्य हुन्छ’, नेता केसीले भने, ‘केही दिनमा आम सहमति भएर पार्टी पुनः एक ढिक्का हुन्छ ।’

उनले सभापतिको नाताले शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने र सबै नेताहरूलाई मिलाएर पार्टीलाई संरचनागत रूपमा चलाउनुपर्नेमा जोड दिए ।

नेता केसीले मुलुक एकदलीय कम्युनिष्टतर्फ उन्मुख भएको समेत बताए । सूचनाको हक, अनताको अधिकारलाई वर्तमान सकारले कुण्ठित गर्ने काम गरिरहेको उनले आरोप लगाए । ‘मिडिया काउन्सिल विधेयक, मानवअधिकार विधेयक यसका ज्वलन्त उदाहरण हुन्’, कांग्रेस नेता केसीले भने ।

भ्रष्टाचारले सगरमाथाको चुचुरो छुँदा समेत दुई तिहाइको शक्तिशाली सरकार निकम्मा बनेको भन्दै उनले ३३ किलो सुन काण्ड, वाइडवढी, फोरजी, बालुवाटार, गोकर्ण रिसोर्ट जस्ता काण्डमा सरकार मौन बस्नु विडम्वना भएको बताए ।

उनले भने, ‘यस्ता काण्डैकाण्डमा अल्झिने अनि दोष अरुमाथि टासेर उम्कन पाउँदैन । सरकारले निष्पक्ष छानविन गरेर जोसुकै भए पनि कार्वाहीको दायरमा ल्याउन हिम्मत गर्नुपर्छ ।’

यतिबेला लोकतन्त्र र लोकतान्त्रिक संविधानमाथि धेरै संकट आएको समेत नेता केसीले बताए । लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।

प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रवीना आले र सचिव प्रदीप पौडेलले पनि बोलेका थिए ।