नेकपा सचिवालय बैठक बस्दै, के-के छन् छलफलका विषय ?

नेकपा सचिवालय बस्दै, केन्द्रीय कमिटी बैठक सार्ने तयारी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको बैठक सार्ने तयारी गरेको छ । नेकपाले आइतबार बिहान ९ बजे सचिवालयको बैठक बोलाएको छ ।

आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपर्ने देखिएको नेकपा स्रोतले जानकारी दियो । 

“राष्ट्रियसभाको चुनावको उमेदवारी दर्तादेखि निर्वाचन तयारीसम्म गर्नुपर्नेछ । एकल सङ्क्रमणीय निर्वाचन भएकाले तलतलसम्म प्रचार पनि गर्नुपर्‍यो, त्यसैले तयारी पनि अपुग हुनसक्छ, यद्यपि सचिवालय बैठकले आवश्यक निर्णय लिन्छ,” एक सचिवालय सदस्यले बाह्रखरीसँग भने ।

विदेश मामिला विभाग उपप्रमुख विष्णु रिजालले अहिलेसम्म बैठक बस्ने नै जानकारी पाएको बताउँछन् । “बैठक स्थगित हुनेबारे जानकारी आएको छैन,” उनले भने ।

गत पुस ६ गते सकिएको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक प्रस्तावलगायतका कार्यसूची तय गरेर केन्द्रीय सदस्यहरूलाई अन्तरपार्टी निर्देशनसमेत पठाइसकिएको थियो । र, राष्ट्रिय सभागृहको हलसमेत बुक भएको थियो ।

नेकपा केन्द्रीय कमिटीको बैठक कार्यसूचीमाथि नै छलफल गर्नेगरी पहिलोपटक बस्न लागेको हो । पार्टी एकताको दिन २०७५ जेठ ३ गते एकीकरणलाई औपचारिकता दिन र शपथ ग्रहणका निम्ति बालुवाटारमा बसेको थियो ।

नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी थियो । गत भदौ ९ गतेको सचिवालय बैठकले ४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

यसबीचमा रवीन्द्र अधिकारी र धनिराम पौडेलको निधन भएको छ । बंशीधर मिश्र बङ्गलादेशका लागि राजदूत बनेपछि केन्द्रीय कमिटीको पद स्थगित छ ।