धादिङमा हत्या र लुटपाट मच्चाउने तामाङ पोखरामा पक्राउ

धादिङको उत्तरी भेगमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाउने कार्यमा संलग्न साँइला भन्ने दुर्गाबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

धादिङ खनियाबास-२ स्थायी ठेगाना भएका २७ वर्षीय उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलील शुक्रबार पोखरा महानगरपालिका वडा नं २५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो ।  

आफ्नो सही पहिचान समेत बदली उनी छदम परिचय बनाई कास्कीको चुम्राङ्ग भन्ने ठाउँमा लुकेर बस्दै आएका थिए । 

प्रहरीका अनुसार दार्खामा शिव थापाको हत्यामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत धादिङले यसअघि नै ५ वर्ष कैद तोकेको छ ।

यस्तै भिषण सिम्खडा हत्या आरोपमा पनि अदालतले ५ वर्ष नै कैद सुनाएको छ । 
                         
यस्तै धादिङको खनियाबास १ स्थित पर्चे भन्ने स्थानमा उनले कैशाल दीक्षितलाई खुकुरी देखाउँदै ६ लाख १० हजार लुटेर फरार रहेको पनि प्रहरीले जनाएको छ । 

सीआईबीले उनलाई आवश्यक कानूनी कारवाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको छ ।