सडक डिभिजनका प्रमुख र २ इन्जिनियर एकै दिन पक्राउ

सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साह र २ इन्जिनियर एकै योजनामा फरक फरक तवरले घुस लिँदै गर्दा एकै दिन घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा साहलाई ३ लाख घूस लिँदै गर्दा कार्यालय प्रमुख आवासभित्रको बैठक कक्षबाट शुक्रबार अख्तियारले नियन्त्रणमा लिएको हो ।

सोही कार्यालयका इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर वीरेन्द्रकुमार साह पनि १५ लाख ९६ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले नवीन र वीरेन्द्रलाई रकम लिँदै गर्दा कार्यालयको परिसरमा रहेको कर्मचारी आवासबाट पक्रेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।