छोरेपाटन माविको वार्षिकोत्सव

छोरेपाटन माविले ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार मनाएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले छोरेपाटनलाई मेघा विद्यालय बनाउन सहयोग गर्ने बताए । उनले पोखरा महानगरपालिकामा भएका विद्यालयको संख्या घटाउने, प्रयाप्त भौतिक पूर्वाधार उपलब्ध गराएर गुणस्तरीय र आधुनिक शिक्षा दिने योजना सुनाए ।

उनले आगामी शैक्षिक सत्रदेखि महानगरपालिकाले पोलिटेक्निकल बहुप्राविधिक शिक्षालय स्थापना गरीबेरोजगार युवाहरुलाई क्षमतावान बनाई दक्ष जनशक्ति उत्पादन जानकारी दिए । जिसीले विद्यालयले प्रकाशन गरेको मुखपत्र ज्योत्स्ना पनि लोकार्पण गरे ।

वार्षिकोत्सवमा खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक तथा छात्रवृत्ति वितरण गरिएको थियो । समारोहमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी पुरस्कार प्रदान गर्ने सुनकुमारी गुरुङ, विनोद÷मनोज पौडेल, क्या. खड्गबहादुर शाही, भीमबहादुर थापा, हरिराज पोख्रेल, मनुराज आचार्यलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरियो ।

स्कुलमा २५ वर्ष अध्यापन गरेका शिक्षक रामप्रसाद सुवेदी, डिल्लीराम शर्मा, भगवती कार्की, जानुका पौडेल, प्रेमराज गौतमलाई दीर्घ सेवा पुरस्कार प्रदान गरियो । उत्कृष्ट शिक्षकबाट डिल्लीराम शर्मा, सागर बराल, रेखा थापा, उमराज त्रिपाठी, विजया सुवेदी, टीका क्षेत्री, लेखा अधिकृत छविलाल पनेरु र कर्मचारी रामजी बराल र ऋषिराम सिग्देललाई सम्मान गरियो ।

कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका नारायणप्रसाद सुवेदी, पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारी, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल, नेकपाका सुवास ढुंगाना, कांग्रेसका देवराज आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष रविलाल शर्मा, अभिभावक माधव पौडेल, सहायक प्रअ डिल्लीराम शर्मा, दिव्यश्वरी रेग्मी, मेघनाथ पौडेल लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक लक्ष्मण थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र लेखा अधिकृत छविलाल पनेरुले आर्थिक प्रतिवेदन पेश गरे ।

वार्षिकोत्सवको अवसरमा जुनियर रेडक्रस सोसाइटीको आयोजनामा बिहान रक्तदान कार्यक्रम गरिएको थियो ।