सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको छ।

सांसदले राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्रलाई पुस ५ गते आफ्नै घरमा बोलाई कोठाभित्र थुनेर नसालु पदार्थ सुँधाएर कुटपिट गरेको र आफूमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै मिश्रले बिहीबार इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

कपिलवस्तु जिल्ला अदालतले सांसद साहबिरुद्ध ज्यान मार्ने उद्योगका पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी सुनिल मल्लले बताएका छन् ।

उनले सांसद साहलाई पक्राउ गर्नका लागि आवश्यक निकायमा पत्राचारको तयारी भइरहेको जानकारी दिएका छन् ।

सांसद साह भने व्यक्तिगत कामले हाल भारतको लखनउमा रहेको जनाइएको छ ।