प्रहरी हवल्दार मध्यरातमा रक्सीले मातेपछि…

मदिरा सेवन गरि मध्यरातमा होहल्ला गर्दै सर्वसाधारणलाई आतंकित तुल्याउने एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।

प्रहरी हवल्दार चेतबहादुर विकले मदिरा सेवन गरि होहल्ला गरेपछि पक्राउ परेका हुन् ।  उनी दाङ  देउखुरी जिल्ला अदालतमा फरार  प्रतिवादी पक्राउ गर्न भनि खटिएका प्रहरी हवल्दार हुन ।

पक्राउ गरिएका हवल्दार उपर विभागीय कारवाही गर्ने  जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकरी दिए । 

होटेल साहुलाई पेस्तोल ताकेको आरोप

प्रहरी हवल्दार विकले मदिराले मातेपछि खाएको रकम माग्दा होटेल साहुलाई पेस्तोल ताकेको आरोप लागेको छ ।

यद्यपि होटेल सञ्चालकले भने यो विषयमा कुनै प्रतिक्रिया दिइसकेका छैनन् । जिल्ला प्रहरी प्रमुख भट्टराईले त्यो कुराको जानकारी भने आफुलाई नभएको बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा दाङ नजिकै रहेको होटेलमा मदिरा सेवन पछि होहल्ला गर्दै निस्किएका प्रहरी हवल्दारले सर्वसाधारणलाई समेत पेस्तोल देखाएर त्रसित पारेको नाम नभन्ने सर्तमा एक स्थानीयले बताएका छन् ।