मन्त्री योगेश भट्टराईले किन हटाए कर्ण शाक्यलाई ?

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० को उद्घाटन क्रममा अतिथिका रुपमा राखेका होटल व्यवसायी कर्ण शाक्य र योगेन्द्र शाक्यको नाम हटाएका छन् । उनले यी २ जनाको नाम अन्तिम समयमा काटेको बताइन्छ ।

बुधबार दशरथ रंगशालामा आयोजित भ्रमण वर्ष उद्घाटन कार्यक्रममा शाक्यका काका–भतिजालाई अतिथिका रुपमा राखिएको थियो । तर नेपालका अन्य प्रतिष्ठित होटलका संचालकलाई नराखि शाक्यद्वयलाई राखिएकोमा विवाद भएको थियो ।

शाक्यमाथि पोखराको फेवातालदेखि नगरकोटसम्मको सरकारी जग्गा अतिक्रमण गरेको आरोप लाग्दै आएको छ ।

शाक्यको विवादसहित केही मिडियामा समाचार आएपछि मन्त्री भट्टराईले उद्घाटनकै दिन बुधबार उनीहरूको नाम कार्यतालिकबाट हटाएका थिए ।

भ्रमण बर्षको उदघाटन सत्रको कार्यतालिका सार्वजनिक गर्दा शाक्यका काका–भतिजाको नाम थियो । तर कार्यतालिका संशोधन गरी उनीहरू दुवैको नाम काटिएको थियो ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा नेपालमा पर्यटन उद्योगका रुपमा योगदान गरेका राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त होटलको तर्फबाट कसैलाई पनि राखिएको थिएन । तर शाक्य काका–भतिजलाई राखिएपछि कार्यक्रमकै महत्व घट्न पुग्ने भन्दै विवाद उत्पन्न भएको थियो ।

कर्ण शाक्यले पोखराको फेवाताल अतिक्रमण गरी पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना बनाएकोमा छानबिन समिति नै गठन भई प्रतिवेदन दिइसकेको छ । ती संरचना फेवाताल अतिक्रमण गरेर बनाएको सरकारी छानविन समितिले निष्कर्ष निकालेको छ ।

हाल ललितपुर नापी कार्यालय प्रमुख रहेका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छानबिन समितिका अनुसार होटलका २ वटा भवन मात्रै फेवाताल बाहिर छन् । बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएको पाइएको छ ।

समितिले २०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नाप नक्सालाई आधार बनाएको थियो ।

यसक्रममा १५ मंसिर २०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो । त्यो योजनामा फेवातालको ६५ मिटरभित्र कुनै पनि संरचना बनाउन रोक लगाइएको छ ।