विप्लव समूह शान्ति प्रक्रियामा आउँदै !

प्रहरी प्रधान कार्यालयले विप्लव समूहले शान्ति प्रक्रियामा आउन बाध्य हुँदै गएको निष्कर्ष निकालेको छ ।

प्रहरी प्रधान कार्यालयले निकालेको निष्कर्षमा भनिएको छ,‘नेकपा भनिने विप्लव समूहको गतिविधि नियन्त्रण हुँदै गएको छ । दाङमा केन्द्रीय स्तरका नेता पक्राउ र ठूलो मात्रामा हतियार बरामद, कुमार पौडेलको प्रहरीसँगको भीडन्तमा मृत्यु र अत्यधिक कार्यकर्ताले पार्टी छोडेपछि समूहले रणनीतिक योजना परिवर्तन गरी शान्ति प्रकृयामा आउन बाध्य भएको अवस्था सिर्जना हुँदै गएको छ ।’

प्रतिबन्धपछि विप्लव समूहका एकहजार १८३ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।  जसमा एक हजार ११९ जनाविरुद्ध मुद्दा दर्ता भएको, १३९ जना हाल कारागारमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गिरफ्तार पर्ने डरले ९०९ जनाले प्रहरीसमक्ष विप्लव समूह परित्याग गरेको घोषणा गरेका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार सो समूहबाट एलएमजी एक थान, एसएलआर एक, एसएमजी सात थान, पेस्तोल २९, भरुवा बन्दुक गरि ४५ वटा हतियार बरामद गरेको छ । १०१६ राउण्ड गोली समेत बरामद गरिएको छ । 

यसैबीच विप्लव समूहले सांगठनिक संरचनालाई परिवर्तन गरेको छ । पार्टीको केन्द्रीय संरचनामा पार्टी महासचिव नेत्रविक्रम चन्दको नियन्त्रणमा रहने गरी ५ सदस्यीय सचिवालय र ३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । 

३० सदस्यीय केन्द्रीय समिति छ । औपचारिक रुपमा सांगठनिक संरचनाभित्र उल्लेख नगरिएको भए पनि उदय चलाउनेको कमान्डमा सैन्य ब्यूरोसमेत गठन विप्लव समूहले गरेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार सडक किनारमा, सार्वजनिक स्थानहरुमा, पुल कल्भर्टहरुमा विष्फोटक पदार्थ राखि जनमानसमा त्रास फैलाउने काममा विप्लव समूह सक्रिय छ ।