नेपाली कांग्रेसमा विभाजनको झल्को

- एउटै पार्टीको २ तिर बैठक

काँग्रेसमा संस्थापन इतर पक्षको उपस्थिति बिना पार्टी केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा इतर पक्षको उपस्थिति नहुने देखिएको हो । बुधबार साँझ बसेको पदाधिकारी बैठकमा पनि पौडेल सहभागी भएको थिएन । 

बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी चयनको विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ ।

आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएर आउने छन् । 

त्यसमध्ये काँग्रेसको तर्फबाट एक जना पनि निर्वाचित हुने सम्भावना छैन । तर काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिने तयारी थालेको छ । जसमा समाजवादी र काँग्रेसबीच तालमेल हुनेछ ।

उनका अनुसार उम्मेदवार चयन गर्ने आधिकारिक निकाय संसदीय समिति नभएकाले आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीलाई अधिकार प्रत्यायोजित गर्नेछ ।

गत मंसिरमा भएको उपनिर्वाचनमा पनि उम्मेद्वार छनोटको अधिकार पदाधिकारीलाई अधिकार प्रत्यायोजित गरिएको थियो ।

काँग्रेसले राष्ट्रियसभा उम्मेद्वार छनोटमा नयाँलाई अवसर दिने शर्माले बताए । यता इतर पक्षका नेताहरु महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा भेला हुँदैछन् । केन्द्रीय सदस्य हृदयराम थानीका अनुसार दिउँसो ३ बजेबाट इतर पक्षका बैठक सुरु हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय समितिले लिएको निर्णयमा आफूहरुको सहयोग रहने इतर पक्षले जनाएको छ ।