पोखराको चाउथेमा कहालिलाग्दो दुर्घटना, सरोज र रोशनको मृत्यु

पोखरामा बुधबार बिहान भएको कहालिलाग्दो सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–१४, चाउथेमा बिहान बस, जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हाल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पृथ्वीचोकबाट चाउथेतर्फ जाँदै गरेको ग २ च २७२६ नम्बरको जीप अनियन्त्रित भई ग१६प ९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सोही बेला विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ९४०५ नम्बरको बससँग ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा जीपमा सवार पोखरा–२९ भण्डारढिक बस्ने ३४ वर्षीय प्रेम परियार र पोखरा–३१ बस्ने २३ वर्षीय दिलबहादुर परियार घाइते भएका छन् ।