तमु ल्होछारमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

रूङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछार आज मनाइँदै छ।  पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार पर्व धुमधामसित मनाइन्छ।

ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ। ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ। ल्होछारको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ भने काठमाडौंमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।

तमु ल्होछारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन्।

‘हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पुँजीको रूपमा रहेका छन्। एकता र सहिष्णुताको यस पुँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ। विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपी, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो। यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं।’