देशभर दिपावली गर्न आह्वान

पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको शुभारम्भको दिन सरकारले सबैलाई देशभरि दिपावली गरेर स्वागत गर्न आह्वान गरेको भन्दै सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीतिक नियोगका कार्यालयमा दिपावली गर्न आग्रह गरेका छन् ।

उनले भने, “त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको सङ्केत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिरउन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाइँमार्फत आम जनसमुदायलाई अपिल गर्न चाहान्छु, सबैले दिपावली गरौँ र दुनियाँलाई भनौँ, ‘अबको हाम्रो यात्रा उज्यालोतर्फ अघि बढेको छ ।”

पर्यटनमन्त्री भट्टराईले देशको प्रतिष्ठासँग गासिएको भ्रमण वर्षको तयारीदेखि शुभारम्भको पूर्वसन्ध्यामा आइपुग्दासम्म नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशी व्यक्त गर्दै देशलाई भ्रमण वर्षमय मनाउनका निम्ति साँच्चीकै सञ्चार क्षेत्रको पनि अभुतपूर्व एकता र सहयोग देखिएको उल्लेख गरे ।

“पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो सङ्ख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्नेछौँ । २०२० देखि २०३० लाई पर्यटन दशकका रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ । सरकारको त्यो दशक अभियानमा यहाँहरुको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ ।”

पर्यटनमन्त्री भट्टराईले मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको तथा पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना रहेको उल्लेख गरे ।

उनले पर्यटनबाट नेपालको कूल गार्हस्थ उत्पादनमा करिब तीन प्रतिशत योगदान रहेको र १५औँ पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको र त्यसलाई सार्थक बनाउन पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा जोड दिएको बताए ।

पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्राण्डिङ सरकारको प्राथमिकतामा रहेको र मानव संशाधनको विकास, सांस्कृति सम्पदाको विकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिँदै आएको उनले उल्लेख गरे ।

नेपालका पर्यटकीय आकर्षण र सेवामा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित रहेको उनले उल्लेख गरे ।

नेपाल भ्रमर्ण वर्ष–२०२०’को शुभारम्भ यही १ जनवरी (पुस १६ गते बुधबार) दशरथ रङ्गशालामा राष्ट्रपतिले उद्घाटन गर्नेछन् । समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ ।

कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुखज्यू, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख, विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहने जनाइएको छ ।

शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र पोशाकसहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति रहनेछ ।

नेपालको ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति रहनेछन् ।