प्रदेश राजधानी हेटौंडा, नाम वाग्मती राख्ने नेकपाको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालय वैठकले प्रदेश ३ को नाम र राजधानी टुङ्गो लगाएको छ ।

आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।

राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।