विद्यालयसंगै मसानघाट भएपछि….

चारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन् । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घाटमा लैजाने गरिएको छ । 

दाह संस्कार भएको दिन विद्यालयमा पढ्न आउन विद्यार्थी डराउँछन् । विसं २०१० मा स्थापना भएको विद्यालयको छेउमै मसानघाट हुँदा विद्यालयको पठनपाठनसमेत प्रभावित हुँदै आएको छ ।

विद्यालय छेउमै विसं २०७३ मा स्थापना भएको मसानघाटका कारण अध्ययन, अध्यापन गर्ने÷गराउनेमा समेत मानसिक र शारीरिकरूपमा असर पर्ने गरेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताए ।

 हुनत् विकासको तीव्र गतिसँगै बाँकेका धेरै ठाउँमा रहेका कतिपय मसानघाट मासिँदै जान थालेको छन् । 

विद्यालय सञ्चालन भइरहेका बेला मुस्लिम समुदायका मानिसको मृत्युपछि शवलाई मसानघाट ल्याउँदा विद्यार्थीले झ्याल बन्द गर्नुको विकल्प नभएको प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताए । 

मसानघाटमा हुने मृत्यु संस्कारको दृश्य नदेखियोस् भनेर विद्यार्थीले नै कक्षाकोठाका झ्याल लगाउने गर्दै आएका छन् । “विद्यालयमा ससाना बालबालिका अध्ययन गर्दै आएका छन् । उनीहरूको बाल मनोविज्ञानमा कस्तो असर पर्ला ?”, शिक्षकहरु बताउँछन् । 

त्यहाँ कार्यरत शिक्षक/शिक्षिकाले विद्यालय छेउमा यसरी मसानघाट बनाउनु उपयुक्त नभएको बताए । तर मुस्लिम समुदायका नागरिकले अन्यत्र जमिन नभएको भन्दै छेउमै मसानघाट बनाउँदा विद्यालयलाई समस्या भइरहेको बताएका छन् । 

प्रधानाध्यापक दीक्षितले भने, “शवको मुस्लिम संस्कारअनुसार अन्तिम संस्कार गरिरहेको दृश्य र त्यसबाट आउने दुर्गन्धले निकै असजिलो हुन्छ । त्यसमाथि अरू समस्या त छँदैछ ।”

नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेको सामुदायिक विद्यालयमध्ये यो पुरानो विद्यालय हो । उक्त मसानघाटमा पुरैना गाउँ, फुल्टेक्रा, नहरपूर्वा गाउँका मुस्लिम समुदायका मानिसको मृत्युपछि अन्तिम संस्कार गर्ने गरिएको प्रधानाध्यापक दीक्षितले बताए । 

“मसानघाटमा जब शव ल्याएको देखिन्छ, त्यसपछि विद्यालयमा बस्नै नसकिने वातावरण हुन्छ”, उनले भने । विद्यालयलाई नै यहाँबाट सार्नुपर्यो भनेर जनप्रतिनिधि आएपछि विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर निवेदनसमेत दिएको प्रधानाध्यापक दीक्षितको भनाइ छ ।

तर अहिलेसम्म यसको कुनै सुनुवाइ हुन सकेको छैन । उहाँका अनुसार घाटमा लाश ल्याएर अन्तिम संस्कारका लागि काम थालेपछि विद्यार्थीको मानसिकता पढाइमा भन्दा बाहिरतिर बढी जाने गरेको छ । 

दाहसंस्कार भएको दिन मात्र नभई त्यसको तीन÷चार दिनसम्म पनि विद्यालयको पठनपाठन प्रभावित हुने गरेको छ । शिक्षक र विद्यार्थीमा मनोवैज्ञानिक त्रास पैदा हुने गरेको स्थानीयवासीको भनाइ छ । 
उक्त समुदायका मानिसले विगतमा विद्यालयको गेट नजिकै अन्तिम संस्कार गर्ने गरेका थिए । तर केही वर्षयता गेट नजिकबाट हटाएर अलि पर विद्यालयको छेउमा मसानघाट नै बनाएर मृत्युपछिको अन्तिम संस्कार गर्ने गरेको प्रधानाध्यापक दीक्षितले बताए । 

उनले भने, “विद्यालय क्षेत्रमा यसरी मसानघाट बनाउन नहुने भए पनि यस विषयमा मुस्लिम समुदाय र शिक्षा कार्यालयसमेत उदासिन रहँदै आएका छन् ।”