नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतले गरेको कार्यतालिकासहित महाधिवेशनको मिति घोषणा गर्ने लगायतका निर्णय खारेज गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले माग गरेका छन् ।
शनिबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा पत्रकार सम्मेलन गरी नेता पौडेलले शुक्रबारको बैठकले बहुमतले गरेको निर्णयले पार्टीलाई संकटमा पार्ने बताए ।
महामन्त्री डा.कोइराला र नेता प्रकाशमान सिंहलाई राखेर पत्रकार सम्मेलन गरेका पौडेलले पार्टीभित्र सहमतिबिनाको निर्णय कार्यान्वयन गर्न नसकिने बताए ।
२०७७ मंसिरसम्म महाधिवेशन गरिसक्नुपर्ने कार्यतालिका आफूले प्रस्ताव गरेको तर देउवाले असाधारण तरिकाले फागुनमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिबाट गराएको पौडेलले बताए । उनले यसरी नै जाने हो भने पार्टीलाई कसरी बचाउने भनेर चिन्ता बढेको बताए ।
देउवाले बहुमतका आधारमा पार्टी विधानका संवेदनशील धारा निलम्बन गरेकोमा पौडेलले आपत्ति जनाए ।
‘वैधानिक अवस्थालाई कसरी भताभुंग पारियो भन्ने देखा परेको छ । केन्द्रीय कार्यसमितिमा जुनखालका निर्णय भएका छन् ती गलत मनसाय र परिणाम ल्याउने किसिमले भएका छन् । तिनलाई सच्याउनुपर्छ’, उनले भने ।
पार्टीलाई देउवाले खतरामा पारेकाले देशभरका कार्यकर्तालाई सजग रहन पौडेलले आह्वान गरेका छन् । ‘कांग्रेसलाई लोकतन्त्रका लागि जनताको भरोसाको केन्द्र बनाएर लैजान पार्टीमा छलफल गरेका हौं’, पौडेलले भने, ‘सरकारले धाँधली र भ्रष्टाचार गरिरहेको छ । गोकर्णदेखि दरबारमार्गको जग्गा र वाइडबडी काण्ड भएका छन्, सरकारका यस्ता अव्यवस्थाको विरुद्धमा लड्छौं । पार्टीको पनि एकलौटी निर्णयको विरुद्धमा लड्छौं ।’
पार्टीभित्रका समस्या समाधान गर्नका लागि नेता प्रकाशमान सिंहको नेतृत्वमा छलफल भइरहेको अवस्थामा सहमति नभइ निर्णय गरेकोमा पौडेलले विरोध जनाएका छन् ।
‘पार्टीलाई निष्पक्ष र न्यायका आधारमा संचालन गर्नुपर्छ । संस्थागत निकास होस् भनेर छलफल हुनुपर्छ भनेका छौं । पार्टीका भातृ संस्थालाई नीतिगत आधारमा वैधानिक आधारमा अगाडि लैजान भनेका हौं । तर एकलौटी भयो’, उनले भने ।
केन्द्रीय कार्यसमितिले शुक्रबार गरेका निर्णय विधि र पराम्पराविपरीत भएको पौडेलले बताए । ‘पार्टीलाई धरापमा पार्ने निर्णय हो’, पौडेलले भने, ‘पार्टीको विधिअनुसार संचालन गर्नुपर्छ । कांग्रेस विधान र सहमतिले चल्नुपर्छ । नेता कार्यकर्ताको चाहना र भावनालाई समेटेर अगाडि बढ्नेछौं ।’
महामन्त्री डा. शशांक कोइरालाले पार्टी एकताबद्ध भएर चलेमात्र नेपाली कांग्रेसलाई जनताले मुलुक संचालनका लागि पालो दिने बताए। पार्टीभित्र गुट र उपगुट बनाउने हो भने जनताले नपत्याउने उनको भनाइ थियो ।
उनले भने, ‘पार्टी एक भए मात्र कांग्रेस रहन्छ नत्र धराशयी हुन्छ । वार्ता भइरहेको थियो एक्कासी सभापतिले निर्णय गर्नुभयो, यो ठीक भएन ।’
पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि सबैभन्दा पहिले देउवा र त्यसपछि नेता पौडेलले सोच्नुपर्ने महामन्त्री कोइरालाको भनाइ थियो । उनले सभापतिको निर्णयले कांग्रेसको अस्तित्व खतरामा पार्ने किसिमको भएको आरोप लगाए ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले न्यायपूर्ण ढंगले पार्टी अगाडि बढाउनुपर्ने बताए । उनले पार्टीका भातृ संगठनको संवेदनशीलतालाई ख्याल गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
‘महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिको एजेन्डामा राख्नुपथ्र्यो । अन्तिम समयसम्म काम नगर्ने र अन्तिम समयमा म्याद थपौं भन्ने कुरा ठिक भएन ।’
केन्द्रीय कार्यसमितिले गरेको निर्णय लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक भएको नेता सिंहको भनाइ थियो ।






