नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो ।
यस्तै, बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो ।
केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाले प्रस्ताव पनि पारित भएको छ । नेविसंघको बारेमा भने वैठकमा निर्णय भएन ।
मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको थियो । यसबिचमा भएका सहमतिका प्रयास पनि सफल हुन सकेन ।
मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला समुहले बैठक बहिस्कार गरेपछि बसेको यो बैठकमा निर्णय गर्दा पनि वरिष्ठ नेता पौडेल र सिटौला पक्षधर नेताहरु भने सहभागी थिएनन् ।

देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा १ बर्ष बढाउने प्रस्ताव गर्दै तत्काल महाधिवेशन नगर्ने तयारी गरेसँगै पौडेल र सिटौला समुहले वैठक बहिस्कार गरेका थिए ।






