वसन्त चालिसेले दिए राजीनामा

पोखरा महानगरका वरिष्ठ नगर प्रहरी निरीक्षक वसन्त चालिसेले बिहीबार पदबाट राजनीमा दिएका छन् । २ थरी प्रमाणपत्र पेश गरी जागिर खाएको सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले चालिसेले राजीनामा दिएको पुष्टि गरे । कार्यपालिका बैठकबाट अनुमोदन गर्ने गरी उनको राजीनामा बिहीबारै स्वीकृत भइसकेको छ ।

चालिसेको पहिलो नागरिकतामा जन्ममिति २०१७ फागुन ५ गते उल्लेख छ । उनले पछिल्लो पटक महानगरमा पेस गरेकोमा जन्ममिति २०१९ चैत २७ गते छ । अघिल्लो प्रमाणपत्रको जन्ममितिलाई आधार मान्दा उनी सेवा निवृत्त हुनुपर्ने अवधि ९ बढी पार भइसकेको छ ।

महानगरमा अवकास तथा बढुवा गर्ने क्रममा १० भन्दा बढी कर्मचारीको फरक फरक शैक्षिक प्रमाणपत्र र नागरिकता फेला परेको थियो । महानगरले यसअघि नै २ थरी प्रमाणपत्र पेश गर्ने एकबहादुर बस्नेत र लोकराज घिमिरेलाई कारवाही गरिसकेको छ । वडामा कार्यरत जुनियर कर्मचारीलाई कारवाही भएको तर महानगरमै कार्यरत चालिसेलाई भने कारवाही नभएको भनी आलोचना भएको छ ।

यस्तै, महानगरमा कार्यरत २ थरी प्रमाणपत्र पेश गर्ने ११ नगर प्रहरीमाथि अख्तियारले छानबिन गरिरहेको छ ।