अपांग विद्यार्थीलाई सिडब्लुएसएनको सहयोग

बाल हितकारी परियोजना नेपाल (सिडब्लुएसएन)ले पोखराका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सहयोग एवं अपांगमैत्री शौचालय निर्माण गर्न सहयोग गरेको छ । सिडब्लुएसएनले पोखरा महानगरपालिका वडा नं. १ देखि १५ सम्मका सहकारी विद्यालयका करिब ४ सय अपांग विद्यार्थीलाई स्कुल ड्रेस र स्टेसनरी प्रदान गर्ने अध्यक्ष गोबिन्दराज पहारीले बताए ।

यही अभियान अन्तर्गत मंगलबार पोखरामा ५ का धर्मस्थली आधारभूत स्कुल र वाराही माविका विद्यार्थीलाई सहयोग गरिएको छ । संस्थाका अध्यक्ष पहारी, पोखरा ५ का अध्यक्ष धनबहादुर नेपाली लगायतले धर्मस्थलीका १३ र वाराहीका २ विद्यार्थीलाई स्कुल ड्रेस र स्टेसनरी प्रदान गरे । कार्यक्रममा अध्यक्ष नेपालीले संस्थाले प्रशंसनीय काम गरेको उल्लेख गर्दै शिक्षा र व्यक्तित्व विकासको अवसर सबै नेपालीले पाउने वातावरण बन्नुपर्नेमा जोड दिए ।

सिडब्लुएसएनका अध्यक्ष पहारीले संस्था पोखराका विभिन्न वडामा रहेका अपांग बालबालिकाको विवरण संकलन गर्दै उनीहरुलाई परिचयपत्र बनाउन पनि सहयोग गर्ने गरेको जनाए । उनले फरक क्षमता भएका बालबालिकालाई शिक्षा र व्यक्तित्व विकासको अवसर दिन पहल गरेको बताए । पहारीले भने, ‘सरकारले बनाएको जगमा ईंटा थप्ने प्रयत्न गरेका छौं । सबै बालबालिकालाई शिक्षाको अवसर पु¥याउन लागेका छौं ।’ धर्मस्थली स्कुलका प्रधानाध्यापक केदारनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा सिडब्लुएसएनका कार्यक्रम संयोजक रघु ज्ञवालीले पनि बोलेका थिए ।

यो कार्यक्रमका लागि स्थानीय साझेदार समुदायमा आधारित पुनस्र्थापना सेवा(सिबीआरएस) र आर्थिक सहयोग रिहाबिलिटेसन इन्टरनेसन(आरइ) ग्लोबलले गरेका छन् ।