चिसाे बढेपछि विद्यालय बन्द

चिसो अत्यधिक बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय सोमबार तीन दिनका लागि बन्द भएका छन् । नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नगरका सबै विद्यालय बिदा गर्न सूचित गरेको हो ।

अन्य बिदामा मिलान गर्ने गरी बिदा दिन नगरपालिकाको सूचनामा भनिएको छ । त्यस सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएको जनाइएको छ ।

यसअघि जिल्लाकै गौरीगञ्ज गाउँपालिकाले पनि जाडोका कारण दैनिक पठनपाठन सञ्चालन गर्न कष्टकर भएको भन्दै आगामी मङ्गलबारसम्मका लागि तीन दिन नै विद्यालय बिदा गर्ने सार्वजनिक गरिसकेको छ ।

यता एक हप्तादेखि बढेको अत्यधिक चिसोको कारण इनरुवा नगरपालिकाले दुई दिनका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयमा बिदा दिएको छ । इनरुवा नगरपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण इनरुवा नगर क्षेत्रका विद्यालयमा सोमबार र मङ्गलबार बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।

नजान र पठनपाठन गर्नका लागि समस्या हुने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताएका छन् ।