नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको २५ घण्टापछि सशस्त्र प्रहरीले कालीकोटबाट सकुशल उद्दार गरेको छ ।
सूचनाको आधारमा प्रहरी टोली शाही भएको स्थानमा पुगेको थियो । सशस्त्र प्रहरीको टोलीले घर घेराउ गरेर हवाई फायरिङ गरेको थियो । त्यसपछि अध्यक्ष शाहीलाई छाडेर विप्लव समूहका व्यक्ति भागेका थिए ।
सशस्त्र प्रहरी बल कालिकोट गुल्मका प्रमुख दिपेन्द्र कुँवरले पनि घटनाको पुष्टि गरे । उनले भने, ‘गाउँपालिका अध्यक्षको उद्दार भइसकेको छ । विप्लव समूहका केही व्यक्ति जंगलतिर भागेका छन् ।’
उनका अनुसार नेपाली प्रहरीको टोलीसँगै सशस्त्र प्रहरीको टोली शाहीलाई लिएर फर्किएको छ । ‘करिब १ घन्टाको पैदलयात्रापछि दैखोलामा पुगिन्छ । त्यहाँ दैलेखबाट पनि टोली आउँछ, अनि अध्यक्ष शाहीलाई कता लैजाने भन्ने टुंगो लाग्छ’, कुँवरले भने ।
प्रहरीले घटनास्थलबाट शंकास्पद केहीलाई पक्राउ गरेको भनिए पनि कुँवरले त्यसबारे बताएनन् ।
यसैबीच सशस्त्र प्रहरीले शाहीको उद्दार गर्दैगर्दा विप्लव समूहले घटनाको जिम्मेवारी लिएको छ ।
विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविको नामबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिशन खाएको र सीआईडी गरेकाले पार्टीको नियन्त्रणमा लिइ आवश्यक छानविनसहित सकुशल राखिएको छ ।’
यस्तो थियो घटनाक्रम
गाउँपालिदका अध्यक्ष शाहीलाई शनिबार राति करिब १ बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो । लगातार ढोका ढक्ढक्याएपछि शाहीकी पत्नी श्रीमती इलाले ढोका खोल्ने वित्तिकै १०ः१२ जनाको नकावधारी समूह घरमा पसेको थियो ।
उनीहरूले सोधपुछ गर्नुछ भन्दै शाहीलाई उठाउन खोजे । इलाले शाहीलाई लैजान दिइनन् । लैजाने नै हो भने आफू पनि सँगै जाने बताइन् । दुबै जनालाई लिएर गएको समूहले करिब २ घन्टा पैदल हिँडेपछि इलालाई जंगलमा छाड्यो । छुटेपछि उनले गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष नर्तमबहादुर बुढालाई उनले खबर गरिन् । बुढाले प्रहरी र स्थानीय प्रशासनलाई घटनाबारे जानकारी गराए ।
इलाले आफ्ना श्रीमानलाई लिएर हतियारधारी समूह कालिकोटतिर लागेको सूचना प्रहरीलाई दिएकी थिइन् । त्यही सूचनाअनुसार शाहीको खोजीमा प्रहरीसँगै सशस्त्र प्रहरीको कालिकोट गुल्मको टोली पनि अपरेशनमा खटियो ।
विप्लव समूहले अपहरण गरेको हुनसक्ने अशंकामा सम्भावित क्षेत्रलाई लक्षित गरेर अपरेशन चलाएको थियो । वडा नं. २ का वडाध्यक्ष रुपालाल विश्वकर्माको टोलीले पनि दैलेख र कालिकोटको सीमा क्षेत्रमा खोजी तीव्र बनाएको थियो ।
साँझ पौने ६ बजेतिर कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्र आसपास सशस्त्र प्रहरीको टोली पुगेको थियो । सुरक्षा सम्बद्ध अधिकृतहरुकाअनुसार विप्लव समूहका व्यक्तिले पनि शाहीलाई त्यही इलाकामा पुर्याएका थिए ।
संयोगवस् विप्लव समूहले शाहीलाई राखिएको घर परिवर्तन गर्न लाग्दा १ महिलाले देखेकी थिइन् र, उनलै सुरक्षा निकायमा खबर गरिन् । त्यही सूचनालाई आधार मानेर नेपाल प्रहरीसहित सशस्त्र प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो ।






