स्मार्ट सिटी कस्तो ? खाका खोज्दै पोखरा

चुनावी घोषणापत्रमा स्मार्ट सिटीलाई प्राथमिकता दिएका मानबहादुर जिसी मेयर निर्वाचित भएको अढाइ वर्ष भएको छ । कार्यकालको मध्यान्तरमा आइपुगेका जिसीले आइतबार स्मार्ट सिटीबारे विज्ञका सुझाव सुने ।

आइतबार हुवाबे टेक्निोलोजिज कम्पनी लिमिटेडका प्रतिनिधिले मेयर जिसीलाई भेटेर स्मार्ट महानगर बनाउन प्रस्ताव गरेका छन् । शनिबार हुवाबेका उपाध्यक्ष केभिज चेङ नेतृत्वको टोलीले जिसीसँग भेटवार्ता गरेको थियो । केही महिनाअघि चीन भ्रमणका बेला जिसी नेतृत्वको टोलीले हुवाबे कम्पनी अवलोकन र कम्पनीका विज्ञहरुसँग छलफल भेटवार्ता गरेको थियो ।

महानगरको टोलीलाई हुवाबेका निक लुले विश्वका विभिन्न स्मार्ट सिटीका नमुना देखाए । उनले स्मार्ट पोखराका लागि केही सुझाव पनि दिए । हुवाबे स्मार्ट सिटी प्लानिङ गर्ने चिनिया अर्धसरकारी कम्पनी हो । यो कम्पनीले ४० देशका १ सय ६० सहरलाई स्मार्ट बनाउने योजना बनाइसकेको छ

उनले स्मार्ट सहर बनाउन ठूलो लगानी आवश्यक पर्ने उल्लेख गर्दै बजेट अनुसार चरणवद्ध रुपमा काम गर्न सुझाव दिए । उनले भने, ‘पहिलो चरणमा स्मार्ट प्रदर्शनी केन्द्र बनाउनुहोस् । सहरका धेरैजसो कुरा त्यही हलबाट नियन्त्रण, अनुगमन गर्न मिलोस् ।’ लुले बजेट र आवश्यकताका आधारमा स्मार्ट सिटी योजना बनाउनुपर्ने उल्लेख गरे ।

मेयर जिसीले पोखरा महानगरले विश्वका विभिन्न सहरको अनुभव उपयोग गर्दै मौलिक तवरले स्मार्ट सिटीको खाका कोर्ने बताए । उनले पोखरालाई स्मार्ट सिटी बनाउन छुट्टै विभाग बनाएर सार्वजनिक निजी साझेदारीमा काम गर्दा सहज हुन उल्लेख गरे । जिसीले भने, ‘यहाँका आइटी विज्ञहरुसँगको छलफल र विदेशी विज्ञको अनुभव दुवैलाई मिलाएर स्मार्ट सिटीको खाका कोर्छाैं ।’

स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधार, कानुन र बजेटका लागि महानगरको स्रोतबाट सम्भव हुँदैन । आफ्नै सर्भर, ट्राफिक व्यवस्थापन, स्मार्ट बत्ती लगायतका काम महानगरले नै गर्न सके पनि सहरको सुरक्षा, कर संकलन, सूचना प्रणाली आदिबारे प्रदेश र संघको पनि समन्वय आवश्यक पर्ने देखिन्छ । जिसी भन्छन्, ‘सक्ने काम सुरु गर्छाैं, अरु व्यवस्था र बजेटका लागि प्रदेश र संघसँग समन्वय गर्छाैं ।’ स्मार्ट सिटी बनाउने प्रविधि विदेशी भए पनि नियन्त्रण र सञ्चालन भने महानगरले नै गर्ने शर्त सुनाए । उनले विज्ञका सुझाव र स्थानीय आवश्यकताबारे विमर्श गरी चाडै स्मार्ट सिटीको डिपिआर बनाउने जानकारी दिए ।

पोखरा महानगरले यो वर्ष जिरो किमीदेखि हल्लनचोकसम्म स्मार्ट डिजाइन बनाउन २ करोड विनियोजन गरेको छ । यो बजेटबाट सडकका घरमा एउटै रंग वा डिजाइनमध्ये १ काम गरिने जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । डिजिटल सिटीको मास्टर प्लान बनाउन पनि १ करोड बजेट विनियोजन उनको भनाइ छ । पोखराका धेरै व्यस्त २ चोक महेन्द्रपुल र हल्लनचोकमा ट्राफिक लाइट लाग्ने तयारी भइसकेको छ । महानगरले स्मार्ट सडक बत्ती राख्ने योजना पनि बनाएको छ ।