पोखराको गैरापाटनस्थित कुमुदिनी होम्सले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । यस अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेतले विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।
उक्त अवसरमा मन्त्री बस्नेतले नेपालको शैक्षिक विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण भएको बताए । उनले निजी शैक्षिक संस्था र केन्द्र सरकारका वीच समन्वय गर्ने दायित्व प्रदेश सरकारले निर्वाह गर्ने जानकारी दिए ।
कास्कीका जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख नारायण सुवेदीले कुमुदिनी होम्सले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भन्दै कुमुदिनी होम्स पोखराको एक उत्कृष्ट विद्यालय भएको बताए ।
विद्यालयका संस्थापक तथा व्यवस्थापन समितिका अध्यक्ष अशोक पालिखेले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।
संस्थाले वार्षिक रुपमा आयोजना गरेका विविध कार्यक्रमहरुका बारेमा प्रकाश पार्दै उनले आगामी दिनमा पनि शैक्षिक तथा अतिरिक्त गतिविधिमा जोड दिने बताए ।
सो अवसरमा उनले कुमुदिनीमा अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आइपिसी)को ढाँचा लागु गरिएको जानकारी दिए ।
कुमुदिनीका कक्षा १ र २ मा आइपिसी पाठ्यक्रम लागु छ । यसका अलावा कुमुदिनीमा चाइनिज भाषा र संस्कृतिको अध्ययन अध्यापन, थ्रिडि कक्षा, खेलकूद प्रतियोगिता, विज्ञान प्रदर्शनी, शिक्षक तालिम, नेपाली कला संस्कृति र शैक्षिक भ्रमण लगायतका विविध गतिविधि आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा विद्यालयका अभिभावक राजबहादुर गुरुङले शैक्षिक विकासमा कुमुदिनीले उल्लेखनीय योगदान दिएको बताए ।
कक्षा १० मा अध्ययनरत सुनिता आचार्यले स्वागत, सहप्राचार्य मनबहादुर भूजेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन शिक्षिका रीता अधिकारीले गरेकी थिइन् ।
कार्यक्रममा विद्यार्थीहरूले आयोजना गरेको विभिन्न शैक्षिक र विज्ञान प्रदर्शनीलाइ कार्यक्रममा सहभागीले चासोपूर्वक अवलोकन गरेका थिए । सो अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम र चाइनिज भाषाका गीतमा र नृत्य गरेका थिए ।
कुमुदिनीमा चाइनिज भाषा र संस्कृतिको अध्ययन अध्यापन गराउँदै आएको छ । नेपाली कला संस्कृतिको संरक्षण र संवद्र्धनका लागि विद्यालय परिसरमा जेके चित्रकला संग्राहलयको स्थापना गरिएको छ ।
संग्राहलयमा नेपालका प्रख्यात चित्रकारहरुका कलाकृति संग्रहित गरिएको र सर्वसाधरणले निशुल्क अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।
यसैबीच कुमुदिनी होम्सले विभिन्न सहयोग कार्यक्रम पनि सम्पन्न गरेको थियो । पोखराको सार्दीखोलामा रहेको हिमालयन प्राविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
विगतका वर्षहरुमा पनि कुमुदिनीले सो विद्यालयलाई सामग्री हस्तान्तरण गर्ने गरेको थियो । सो विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि कुमुदिनीका संस्थापक पालिखेले सहयोग जुटाउनका लागि समन्वय गरेका छन् ।
कुमुदिनीका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर सार्दीखोला स्थित बाराही प्रावि खाँदरजुङ र हिमालयन प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने गरेका छन् भने विद्यालयकोतर्फबाट पोशाक प्रदान गरिन्छ ।
यसैगरी बाच्छीबुडुवास्थित वात्स्यायन वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरिएको थियो । विद्यालयकी संचालिका मीना पालिखेले खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् । सेवा नै धर्म हो र वृद्धाहरुको सम्मान अपरिहार्य भन्ने भावनाका साथ खाद्यान्न सामग्री प्रदान गरिएको पालिखेले बताइन् ।




