अपहरित इला जंगलमा भेटिइन्

शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन् । प्रतिबन्धित विप्लव समूहले उनीहरुको अपहरण गरेको आशंका गरिएको छ । 

शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिइन् । 

विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएको थियो ।

अध्यक्ष शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले ६ महिनाअघि अपहरण गरेका थिए । तर, हस्तवहादुरलाई भने केही समयपछि नै छाडिएको थियो ।

अपडेट : कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले श्रीमती इला शाहीलाई भने रिहा गरिएको जानकारी दिए । अपहरण गरेर लैजाने समूहले शाहीलाई बीच जङ्गलमा छाडेको उनको भनाइ छ ।