फिर्के बचाउने योजना बनाउँदै पोखरा महानगर

पोखराको बजार क्षेत्रबाट बग्दै फेवातालमा पुग्ने फिर्के खोला प्रदूषणको मात्र चपेटामा छैन, अतिक्रमणले कतै कतै करिब अस्तित्व विहीन छ । पोखरा महानगरले फिर्के खोलाको संरक्षण, सफाई र अतिक्रमणबाट जोगाउन योजनावद्ध प्रयास थाल्ने भएको छ ।

शुक्रबार भएको महानगरको कार्यपालिका बैठकले फिर्केखोलाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न विषयगत विज्ञहरुको समिति बनाउने निर्णय गरेको हो ।
मापदण्डी विपरीत बनेका धेरै घर र भवनका तलाको कर गुमाइरहेको महानगरले घरको नक्साको बारेमा पनि नयाँ निर्णय गरेको छ । मापदण्ड भित्र बनेका तर सम्पन्नताको प्रमाणपत्र नलिएका घरहरुलाई सम्पन्नताको प्रमाणपत्र नदिई अभिलेखिकरणमात्र गर्ने महानगरले निर्णय गरेको छ ।

बैठकले सिर्जनाचोकको महानगरको भवनको भाडा नतिरेको जस्ट इन टाइम कन्स्ट्रक्सनसँगको सम्झौता खारेज गरेको छ । महानगरले प्रक्रिया पु¥याएर भाडा असुल गर्ने र नयाँ प्रक्रियाबाट भवन व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले पोखरा महानगरपालिकाको छैटांै नगर तथा विधानसभा माघ ६,७ र ८ गते गर्ने निर्णय पनि गरेको छ । बैठकले वडा नम्बर ३३का अध्यक्ष शिवप्रसाद आचार्य, वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोला र कार्यपालिकाका सदस्य सन्तु सुवेदीलाई पोखरा नगर विकास समितिको सदस्यमा पठाउने निर्णय पनि गरेको छ ।