लोक सेवा परीक्षा पनि कमाउने धन्दा !

लोक सेवाको जाँच दिनेहरु जागिर खानै आएका हुन्छन् तर लोकसेवाको परीक्षामा पास भएर पनि जागिर नखाएको पनि भेटिएको छ । आठ पटकसम्म नाम निकालेर जागिर नखाई बैकल्पिकलाई मोटो रकम लिएर आफ्नो ठाउँ छाड्ने गरेको पाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आठ पटकसम्म एकै व्यक्तिले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको तर नियुक्ति नलिएको पाइएको बताए ।

धादिङको जिल्ला प्रशासन कार्यालयमा नासुमा नाम निकालेका एक व्यक्तिले यस्तो गरेका हु्न । उनले नियुक्ति नलिएर खरिदार पदमा बसेको, फेरि–फेरि गर्दै आठ पटकसम्म लोकसेवाको परीक्षा दिएको र सधैं पास भएको तर, कहिल्यै नियुक्ति नलिएको उनले जानकारी दिए । गुरागाईले ती व्यक्तिको नाम भने खुलाएनन् ।

यसको कारण खोज्दै जाँदा मोटो रकम लिएर जागिर वैकल्पिकलाई छोडिदिएको पत्ता लागेको हो । पैसा लिएको प्रमाण नपाइएको र कानुन अभावमा कारवाही गर्न नसकिएको उनको भनाइ छ ।
यस्तो प्रवृत्तिलाई निरुत्साहन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले परीक्षा पास भएर नियुक्तिका लागि सिफारिस भएपछि नियुक्ति नलिनेलाई दुई बर्ष लोकसेवाले लिने कुनै पनि परीक्षामा सहभागी नगराउने प्रस्ताव गरेको छ ।