नेपाली कांग्रेसले, पोखरा महानगरपालिका वडा नं. १६ स्थित चण्डिका आधारभूत विद्यालयको जग्गा सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्यालयको स्वामित्वमा रहेको कित्ता नं. ४६ को जग्गा हडप्न केही व्यक्ति र संघसंस्था मिलेर प्रक्रियामा गएको आरोप लगाएको छ ।
कांग्रेस पोखरा–१६ का वडासभापति होमबहादुर बानियाँले विज्ञप्ति प्रकाशित गरि यस्तो आरोप लगाएका हुन् ।
‘२०४६ सालमा स्थापित भई ८६ जना गरिब, दुखीका छोराछोरी पढ्दै आएको चण्डिका आधारभूत विद्यालयलाई मासेर अस्पताल विस्तार गर्ने कार्यप्रति भए गरिएका सम्पूर्ण निर्णय खारेज गरी विद्यालयको स्तरवृद्धि र कक्षा थप कार्यमा जुट्न सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछौं’, सभापति बाँनियाद्धारा विज्ञप्तिमा भनिएको छ ।
विद्यालयको जग्गासंगै अस्पताल विस्तार गर्ने योजना र कार्यले विद्यालयको पठन–पाठनमैत्री वातावरणमा समेत प्रतिकुल असर पर्ने कांग्रेसको दावी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित ऐन कानून विपरित निर्णय गरी विद्यालयलाई उठिवास लगाउन चालिएका सम्पूर्ण कार्यहरू बन्द गरी सामुदायिक विद्यालय संरक्षण गर्दै शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार विकासमा केन्द्रित रहन माग गर्दछौं ।’
यस विषयमा समुदायको हित विपरितका कार्य भएर चुप लागेर नबस्ने कांग्रेसले चेतावनी दिएको छ ।





