प्रदेश २ मा राजपा-नेकपा सरकार !

प्रदेश २ मा समाजवादी पार्टी नेपाललाई धक्का लाग्ने देखिएको छ । आमनिर्वाचनमा तालमेल गरेका राजपा र समाजवादीबीच उपनिर्वाचनमा तालमेल भएन ।

यसैबीच बुधबार राष्ट्रिय सभा निर्वाचनमा नेकपा राजपा तालमेलको समझदारी भएको छ । समझदारीमा राजपा अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो र नेकपा अध्यक्ष द्धय प्रचण्ड र केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।

यो समझदारीले समाजवादीलाई राष्ट्रिय सभामा धक्का त लाग्ने नै छ, सँगसँगै सरकारबाट पनि बाहिरिनुपर्ने अवस्था आउनसक्ने देखिएको छ । मुख्यमन्त्रीसहित सरकारमा रहेको समाजवादीलाई हटाएर नेकपा राजपाको सरकार बन्ने सहमतिसमेत भएको बताइन्छ ।

राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेलको तयारी गरिरहँदा राजपा र नेकपा तालमेलको निर्णय नै भयो । यो तालमेलसँगै हिसिला यामीलाई राष्ट्रिय सभामा ल्याउने बाबुरामको सपनामा पनि ब्रेक लागेको छ ।

नेकपा र राजपाले प्रदेश २ को सरकार पनि मिलेर बनाउने आन्तरिक सहमति गरेका छन् । राजपाका १ नेताले फागुनभित्र राजपा र नेकपाको सरकार बन्ने बताए । उनले संघीय सरकारमा पनि राजपा कतै न कतै सहभागी हुने उनले संकेत गरे ।

राजपालाई सहमतिमा ल्याउन प्रधानमन्त्री ओली संविधान संशोधनका लागि पनि लचिलो भएका छन् । अगामी दिनमा वार्ता र संवादमार्फत यसलाई अगाडि बढाउने उनले आश्वासन दिएका छन् ।