कांग्रेसको विवाद : नेता पौडेलको ‘तीर’ एकातिर, ‘निशाना’ अर्केतिर !

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको २ पटक भैसकेको छ । आगामी महाधिवेशनको विषयमा विमत्ति राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षले वहिष्कार गरेपछि सहमति गर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

पौडेल र सिटौला पक्षलाई सहमतिमा ल्याएर विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवा आफै लागे पनि सार्थकता पाउन सकेन । त्यसपछि उनले वार्ता टोली बनाएर सहमतिको प्रयास गरेका छन् ।

उनले विवाद मिलाउने जिम्मा उपसभापति विमलेन्द्र निधिलाई दिएका छन् । पौडेल पक्षले भने पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजक, केन्द्रीय सदस्यद्वय दिलेन्द्र बडु र हृदयराम थानी सदस्य रहेको टोली गठन गरेका छन् ।

वरिष्ठ नेता पौडेलले महाधिवेशन विषय मुद्धा बनाएर विवाद भएको भनिए पनि उनको ‘तीर’ अन्यत्रै रहेको छ । नेताको तिर सही ठाउँमा लाग्छ लाग्दैन त्यो हेर्न बाँकी छ ।

सिटौला पक्षको विषय भने यतिबेला गौण छ । पौडेल पक्षीय नेताहरूको भेलामा महाधिवेशनका विषय कहिं कतै उठेको छैन ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रस्ताव लिएर आएपछि पौडेल र सिटौला पक्षी विच्किएको हो ।

‘सभापति देउवाले विभिन्न विभाग गठन गर्दा ती विभागमा आफू पक्षको सम्मानजनक सहभागिता नहुने देखिएपछि पौडेल र सिटौला पक्षले बैठक नै बहिष्कार गरेको बुझ्न सकिन्छ’, देउवा पक्षका एक नेताले नेपालदूतसंग भने, ‘केही निहूँ नपाएपछि उहाँहरू महाधिवेशन मुद्धा उठाउँदै वैठक बहिष्कार गर्न तिर लाग्नुभएको हो । उहाँहरूको तिर महाधिवेशन होइन विभागमा सम्मानजनक हैसियत होस् भन्ने तिर हो ।’

सिटौला पक्ष नबोले पनि पौडेल पक्षले विशेषगरि नेविसंघ र तरुण दलको नेतृत्व खोजेको उनले बताए । तर सभापति देउवा भने यी दुवै संगठन पौडेल पक्षलाई दिन तयार छैनन् ।

देउवा पक्षका ति नेताले थपे, ‘अन्य विषयमा कुरा मिले सभापति देउवाले नेविसंघ र तरुण दलमध्ये कुनै एकको नेतृत्व पौडेल पक्षलाई दिन पनि सक्नुहुन्छ । पौडेलको लक्ष्य पनि २ संगठनमा वार्गनिङ गरेर एउटा पाइन्छ दाउ हो ।’

सभापति देउवा अन्य धेरै संगठनको नेतृत्व पौडेल पक्षलाई दिएर भए पनि नेविसंघ र तरुण दल आफै राख्न लागिपरेका छन् । र देउवाले यी २ संगठन बाहेक अन्य जुनसुकै रोज्न पौडेललाई आग्रहमात्र गरेका छैनन, दवाव समेत दिइरहेका छन् ।

पौडेलले २ संगठनमध्ये नेविसंघ नै आफ्नो पक्षमा परोस् भन्ने चाहेका छन् । पौडेल पक्षको भेलामा पनि नेविसंघको चर्चा विशेषरुपले उठेको छ । पौडेलले विशेषत नेविसंघमा आफ्नो सम्मानजनक हैसियतका लागि अडान लिन भनेका छन् ।

भेलामा पौडेलले आफ्ना नेताहरूलाई निर्देशन दिएका छन्, ‘नेविसंघमा आफूलाई अध्यक्ष, सिटौलालाई उपाध्यक्ष, देउवालाई महामन्त्री र गच्छदारलाई कोषाध्यक्ष लिन भन्नुहोस् ।’

वरिष्ठ नेता पौडेलले उक्त प्रस्ताव सभापति देउवाले नमाने अर्को विकल्प पनि अघि सारेका छन् । ‘त्यो पनि मान्नुहुन्न् भने ३२ वर्ष मुनीको नेविसंघको विधान कार्यान्वयन गराउने व्यवस्थाका लागि अडान लिनुहोस्,’ पौडेलले निर्देशन दिए ।

सभापति देउवाले विभाग बढाएर ४१ बनाउने प्रस्ताव लगेपछि पौडेल पक्ष सशंकित बनेको छ । यस विषयमा विधानतः २८ विभाग नै हुनुपर्ने पौडेल पक्षको अडान छ ।

पौडेल पक्ष नेविसंघमा कुरा मिल्यो भने अन्य विषयमा पनि केही लचक हुने संकेत दिएको छ । पौडेल पक्षीय वार्ता टोलीका सदस्य हृदयराम थानीले भने, ‘देउवा पक्षले नेविसंघको अध्यक्ष र महामन्त्री आँफैलाई चाहिन्छ भनिरहेको छ । साथै नेविसंघमा ४ महामन्त्री प्रस्ताव गरेको छ । यो कुरा हुन सक्दैन । हामीलाई पनि सिटौला, गच्छदार बराबर हिस्सा दिने कुरा मान्य हुँदैन ।’

थानीले थपे, ‘नेविसंघको अध्यक्ष उहाँले लिए दोस्रो ठूलो पद महामन्त्री हामीहरूलाई चाहियो नि !’

‘पहिले सुशील कोइरालाका पालामा पनि नेविसंघ र तरुण दलमध्ये एउटा दिइएकै हो । अहिले पनि पाउनुपर्छ । २ वटै विघटन गरेर तदर्थ समिति बनाउँदा २ बाटै प्रमुख भ्रातृ संगठको नेतृत्व सभापति पक्षलाई दिन सकिँदैन’, वार्ता टोली सदस्य थानीले नेपालदूतसंग भने ।

तत्कालीन सभापति सुशील कोइरालाले देउवा पक्षलाई तरुण दलको नेतृत्व दिएको दियो भने नेविसंघको नेतृत्व आफूले राखेका थिए । पौडेल पक्षको बैठकमा तरुण दलका वर्तमान महासचिवलाई भूपेन्द्रजंग शाहीमाथि कारवाहीको विषयले पनि प्रवेश पाएको छ ।

पौडेलको भनाईलाई उद्धृत गर्दै थानीले भने, ‘अध्यक्षले महासचिव र महासचिवले अध्यक्षलाई कारबाही गर्ने कुरा हुँदैन । यो सबैलाई मिलाएर जानुपर्छ भन्ने छ ।’

केही समयअघि तरुण दल अध्यक्ष जितजंग बस्नेत र महासचिव शाहीले एकअर्कालाई कारबाहीको घोषणा गरेका थिए ।

देउवा पक्षले तरुण दलबाट भूपेन्द्रलाई निकाल्न भनेको छ । अहिले भूपेन्द्रलाई निकाले भोलि अर्को महामन्त्री बनाए पनि निकालिने चिन्ता पौडेल पक्षको छ ।

पौडेल पक्षका थानीले भने, ‘कि यो कमिटी भंग गर्नुपर्यो । होइन भने भूपेन्द्रलाई हटाइँदैन, उसले पनि निरन्तरता पाउनुपर्छ ।’

सभापति देउवा शुक्रबारसम्म पौडेल र सिटौला पक्षलाई कुर्ने मनस्थितिमा छन् । त्यतिबेलासम्म सहमति नभए आफ्नै ढंगले अघि बढ्ने तयारीमा देउवा रहेको बताइन्छ ।