पूर्व माओवादीले सभामुख नछाड्ने !

प्रतिनिधिसभाको बैठक पुस ४ गते बस्दैछ र हिउँदे अधिवेशनको पहिलो काम सभामुख तोक्ने रहेको छ । यसका लागि बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र माथापच्चिसी चलिरहेको छ ।

बाहिर भनिँदा सभामुखमा पूर्व सभामुख सुवास नेम्वाङको नाममा सहमति भइरहेको दावी गरिन्छ । तर यथार्थ योभन्दा फरक छ । 

सुवास नेम्वाङका नाममा सहमति जुटाउनु पर्यो भन्ने सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीको खेमा अब पूर्व एमाले र माओवादी भन्ने रहेन भन्ने तर्क गर्छ । तर पूर्व माओवादीमध्ये कसैलाई दिनुपर्यो भने पहिले दिएको त हो नि भनेर भाग पूरा भएको जनाउँछ । 

पूर्वसभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोगमा पूर्पक्षका लागि थुनामा रहँदा नयाँ सभामुख चयनको प्रक्रिया कठिन मोडमा पुगेको छ । 

महराको मुद्दामा बकपत्र चलिरहेको छ । उनले गत असोज १४ गते यो घटना मिडियामा सार्वजनिक भएपछि नेकपा सचिवालय बैठकको जोडबलमा राजीनामा दिएका थिए । 

खुमलटारमा पूर्वमाओवादीको भेला  

सभामुख पद आफूहरुले पाउनु पर्ने अडानमा पूर्व माओवादीका नेताहरु देखिएका छन् । खुमलटारसथित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक नै बसेर कुनै पनि हालतमा सभामुख आफूहरुलाई चाहिने बताएका हुन् । 

जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार बिहान प्रचण्ड निवास पुगेका थिए । 

माओवादीका नेताहरुले स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्न पनि प्रचण्डलाई सुझाव दिएका छन् । 

उक्त भेलामा गृहमन्त्री रामबहादुर थापा बादल, देव गुरुङ, नारायणकाजी श्रेष्ठ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, उर्जा मन्त्री वर्षमान पुनलगायतक नेताहरु सहभागी थिए ।

नेकपाको स्थायी समितिमा रहेका पूर्वमाओवादीका अधिकांश नेताहरु खुमलटार पुगेका थिए ।