आफ्नै अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ ।
अदालतले यसअघि ३ पटक गरि कृष्णदासलाई १४ दिनको म्याद दिइसकेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोश शर्माले अदालतको आदेश बमोजिम ७ दिन म्याद थप गरी तत्कालकालागि कृष्णदासलाई बिराट नर्सिङ होममै फर्काइएको जानकारी दिएका छन् ।
जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाएपनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पूरक नभएकाले पूनः म्याद थपको माग सहित अदालत पेश गरिएकोमा अदालतबाट ७ दिनको म्याद प्राप्त भएको बताएका छन् ।
एक अनुयायीले कात्तिक ४ गते आफूलाई बराहक्षेत्र स्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी दर्ता गराएपछि गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रण पछि पनि कृष्णदास बिरामी भएको भन्दै अस्पतालको सुविधासम्पन्न कोठामा बस्दै आएका छन्।






