चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति अबेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
हर्टअट्याक भएपछि अस्पताल लैजाने क्रममा राति १०ः २० बजे उनको मृत्यु भएको कलाकार निर्मल शर्माले जानकारी दिए । भटट्राई उच्च रत्तचाप र सुगरका विरामी थिए ।
निर्देशक तथा कलाकार समेत रहेका भट्टराई बोर्डका बहालवाला अध्यक्ष हुन् । दुई वर्षे कार्यकालका लागि सरकारले गत चैतमा भट्टराई वोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
उनको शरीर श्रद्धान्जलीका लागि आज दिउँसो २ बजे चलचित्र विकास वोर्डको प्रांगणमा राखिने भएको छ । भट्टराईको पार्थिव शरीरसँगै अभिनेता दीपक क्षेत्रीको पार्थिव शरीर आज सोही समयमा वोर्डको प्रांगणमा राखिने छ । क्षेत्रीको मृत्यु ५८ वर्षको उमेरमा शनिबार भएको थियो ।
यसैबीच, नेपाल चलचित्र प्राविधिक संघले आज अध्यक्ष भट्टराईको निधनले नेपाली चलचित्र उद्योगमा अपुरणीय क्षती पुगेको भन्दै उनको सम्झनामा आज चलचित्र सम्बन्धी छायांकन, सम्पादन नगर्न तथा नगराउन सम्पूर्ण चलचित्रकर्मीहरुसँग आग्रह गरेको छ ।






