प्रहरीकै गल्तीले गयो ३ जनाको ज्यान

- घटनामा संलग्न रहेको आरोपमा तीन जन पक्राउ

धनुषामा शुक्रबार राति भएको बम विस्फोटको घटनामा प्रहरीले साबधानी नअपनाउँदा मानवीय क्षति भएको खुलेको छ ।

शंकास्पद बस्तु बम हुन सक्ने सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले केही होइन भन्दै झोला चलाएलगत्तै शक्तिशाली विस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमिरकुमार दाहालले ‘केही होइन’ भन्दै झोला छोएलगत्तै विस्फोट भएको बताइन्छ ।

प्रहरीले शंकास्पद बस्तु फेला परेपछि सेनाको डिस्पोजल टोली लाई बोलाएको भए क्षति कम हुन सक्थ्यो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित राजेश साहको निर्माणाधीन घरमा विस्फोट हुँदा तीनजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा प्रहरी निरीक्षक दाहाल, घरधनी साहसहित उनका छोरा आनन्द छन् ।

मेडिकल व्यवसायी रहेका साह मिटर ब्याजमा संलग्न रहेको स्थानीय बताउँछन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

 प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् । 

दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।