आजको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै हाल देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भइरहेको जनाएको छ ।

साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ । शुक्रबार अपराह्नदेखि पानी पर्न शुरु भएको थियो ।

राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा साथै पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ । मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने छ । आइतबार देशको पश्चिमी भू–भाग अर्थात पोखरा र यस आसपासका क्षेत्रमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानका साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पोखरामा शुक्रबार बिहानदेखि राति ३ बजेसम्म लगातार वर्षा भइरहेको थियो । आज बिहान बिहान ३ बजे पश्चात वर्षा रोकिएको छ तर आकाशमा डम्म बालल लागिरहेको छ ।