भन्सार प्रमुखलाई साढे १० करोड अनियमितता मुद्दा

सिन्धुपाल्चोकको तातोपानी भन्सा कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतसमेत ५ जनाउपर साढे १० करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

बस्नेतसहित ५ जना विरुद्ध अख्तियारले शुक्रबार १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ११ स्थायी बासिन्दा बस्नेत २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवा प्रवेश गरेका थिए । हाल उपसचिवको रुपमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत कृष्णबहादुर बस्नेतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी जेठान नबिनकुमार गौली लगायतका आफन्तको नाममासमेत लुकाई राखेको अख्तियारको दाबी छ ।

सार्वजनिक सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्मको निजको समग्र आय र व्यय तथा लगानीको विश्लेषण गर्दा पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बिमा समेतबाट १ करोड ७८ लाख आय देखिएको छ ।

बस्नेतले आफु प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा बिदेशबाट नेपाल आयात गर्ने सामानको भन्सार छुटाउँदा बिभिन्न ब्यापारी, क्यारिङ्ग ब्यबसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस रिसवत उठाई त्यस्ता गैरकानूनी रकमहरु बिभिन्न व्यवसाय गर्ने व्यक्तिहरु, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारीहरु, व्यापारी एवं भन्सार एजेन्टहरुमार्फत संखुवासभा खाँदबारी १ निवासी जेठान नबिनकुमार गौलीले प्राप्त गर्ने गरी उनी र उनका परिवारका सदस्यहरु एवं खाँदबारी स्थित विभिन्न व्यापारीहरुको बैंक खाता समेत रकम जम्मा गर्न लगाएको देखिएको छ।

नबिनकुमार गौलीले सोही रकमबाट जग्गा खरिद, होटल व्यवसाय र अन्य व्यवसायमा लगानी गर्ने गरेका छन् । खाँदबारी बजार र आसपास क्षेत्रमा करिब १ सय रोपनी जग्गा खरिद गरेको, खाँदबारीमा नै करिब १० करोड लागतमा आरती होटल निर्माण गरेको, निजको नामबाट अर्बिट इनर्जी प्रा।लि। मा २ करोडभन्दा बढी लगानी गरेको देखिएको छ ।

समग्र जाँच अवधिमा कृष्णबहादुर बस्नेतको आफ्नै स्रोत नपुगेको रकम र जेठान गौलीको नाममा पठाएको श्रोत नखुलेको रकम समेत गरी जम्मा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ श्रोत नखुलेको अख्तियार प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।