हिमपातका कारण डोल्पामा वार्षिक परीक्षा स्थगित

लगातार भइरहेको हिमपातका र चिसो अत्यधिक बढेको कारण हिमाली जिल्ला डोल्पामा वार्षिक परीक्षा स्थगित भएको छ ।

जिल्लाको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगित भएको हो ।

प्रश्नपत्र एउटै हुने हुदा नगरपालिका भित्र पर्ने अन्य विद्यालयमा पनि परीक्षा सञ्चालन गर्न समस्या भएको बताउँदै मौसममा सुधार आएर हिउँ पग्लेपछि आइतबार नेपाली विषयको परीक्षा हुने शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिएका छन् ।

पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने भएको ठूलीभेरी नगरपालिकाले जनाएको छ ।