कांग्रेसको कुन विभागमा को-को ? संगठनमा रिजाल र कार्कीको लडाई

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहबारदेखि शुरु भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला पक्षधरको वहिष्कारका बीच बैठक शुरु भएको हो ।

केही विषयवस्तुमाथि निर्णय गरेको बैठकमा भने केही प्रस्ताव पेश भएको छ । प्रस्तावमध्ये विभाग गठनलाई निकै महत्वका साथ हेरिएको छ । यो संगै विभागको जिम्मेवारी पाउने नेताहरूको पनि चर्चा शुरु भएको छ ।

कांग्रेस स्रोतका अनुसार संगठन विभागमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, प्रचार विभागमा प्रवक्ता शर्मा, विदेश विभागमा केन्द्रीय सदस्य डा. नारायण खड्का र जनसम्पर्क विभागमा गोविन्द भट्टराईलाई ल्याउने तयारी भएको छ ।

संगठनमा डा. मिलेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्कीको पनि दाबी छ । संगठन विभागलाई पार्टीको सबैभन्दा शक्तिशाली विभाग मानिन्छ । जनसम्पर्क विभागमा उमाकान्त चौधरी र अर्जुन जोशीको समेत चर्चा छ ।

चर्चामा रहेका रिजाल र चौधरीबाहेक सबै देउवा पक्षका नेताहरू हुन् । रिजाल पछिल्लो समय महामन्त्री शशांक कोइराला निकट मानिन्छन् भने चौधरी कृष्णप्रसाद सिटौला निकट हुन् ।

देउवा विभाग गठनका लागि पौडेल पक्षसँग सहमतिको ढोका भने खुला नै राखेका छन् । तर पौडेल पक्षले संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागमध्ये २ वटा आफ्नो पक्षले पाउनुपर्ने अडानमा लिएको छ । साथै ६०-४० को भागबण्डा अनुसार अगाडि बढ्नुपर्नेमा पौडेल पक्षको जोड छ । तर, देउवाले ती बाहेकका विभाग रोज्न भनेका छन् ।

विधानअनुसार महाधिवेशनको दुई महिनामै र नयाँ विधान अनुसार ६ महिनामा विभाग गठन गर्नुपर्ने व्यवस्था छ । तर सभापति भएको ४५ महिनापछि देउवाले विभाग गठनमा जोड दिएका छन् । कांग्रेसमा लामो समयदेखि विभाग गठन चर्चा चल्दै आएको थियो ।

यता एकपटक गठन भएर विघटन भएका काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिसमेत डेढ वर्षदेखि अस्तित्वमा छैनन् ।

पार्टी विधानले विभाग गठनको अधिकार सभापतिलाई दिएको छ । देउवाले विभाग प्रमुख र सदस्य तोक्नेछन् ।