निशाना बन्दै वडा कार्यलय, संखुवासभामा पनि आगजनी

अपराधिक गिरोहले वडाकार्यलयलाई निशाना बनाएर कहिले आगजनी त कहिले बिस्फोतको घटना गराइरहदा संखुवासभामा पनि वडा कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा आगजनी गरेका छन् ।

अज्ञात समूहले बुधबार राति मादी नगरपालिका–५ को वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान नष्ट भएको नगरप्रमुख विदुर सुब्बाले जानकारी दिएका छन् ।

आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ ।

वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो । अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरि आगजनीमा संलग्नको खोजीकार्य भइरहेको प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा जानकारी दिएका छन् ।