महरालाई भेट्न जानेको लर्को, कोशीको माछा लिएरै भेट्न पुगे डिएसपी भारती

पूर्वसभामुख कृष्णबहादुर महरा बलात्कारको आरोपमा पुर्पक्षका लागि यतिबेला डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । बलात्कार प्रकरणमा उनी जिल्ला अदालत काठमाडौंको आदेशले कारागार पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतको फैसला विरुद्ध उनी उच्च अदालत पाटन पुगेका छन् । तर उच्च अदालतले कुनै निर्णय दिइसकेको छैन। महरालाई भेट्न दिनहुँ नेकपाका नेता तथा कार्यकर्ताहरूको निकै भीड लाग्ने गर्छ कारागारमा । नेकपाका सांसदहरू पनि भेट्नेमा पर्दछन् । आफन्त त जाने नै भए । 

यही मंसिर ४ गते बुधवार कारागारमा रहेका महरालाई भेट्न नेपाल प्रहरीका डिएसपी तिलक भारती पनि पुगेका थिए । उनी महराको ज्वाइँ नाता पर्छन् । सप्तरीमा दरबन्दी भएका उनी बिदा लिएरै महरालाई भेट्न कोशीको माछा लिएरै आइपुगेका थिए।

दरबारमार्गको वृत्त प्रमुख रहँदा ल्याण्डमार्क होटलको सामूहिक बलात्कार काण्डमा उनी विवादमा परेका थिए। बिदामा बसेकै कारण उनको संलग्नता नदेखिए पनि त्यसपछिका अनुसन्धान प्रक्रियामा उनको कमजोरी र पदीय आचरणभन्दा बाहिर गएपछि विवादमा तानिएका थिए।

महरालाई माछा निकै मनपर्छ भन्ने थाहा पाएरै होला डिएसपी भारती महरालाई भेट्न जाँदा कोशीका माछा लिएर गएका थिए ।

फ्राइ गरेको माछा लिएर पुगेका भारतीले महरालाई धित मरुन्जेल माछा ख्वाए र फर्किए। डिल्लीबजारको ‘क’ ब्लकमा रहेका महरालाई डिएसपीले माछा ल्याएर खुवाएको देखेर अन्य कैदीहरू मुखामुख गरिरहेका थिए ।