नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द हुने भएको छ ।
पहिरो रोकथामसम्बन्धी काम गर्नका लागि जिल्ला सुरक्षा समितिले मंसिर २७ गते शुक्रबारदेखि दुई सातासम्म दिउँसोको समयमा गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
वुधबार विहान बसेको सुरक्षा समितिको बैठकले २७ मंसिरदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्ने निर्णय गरेके हो । नारायणगढबाट जाने बसलाई १५ किलो बजारमा रोकिने छ भने, मालवाहक गाडीलाई दासढुंगामा रोकिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले दुई सातामा पहाड काटिएका र पहिरोको जोखिम रहेका ठाउँका झर्न लागेका ढुंगा हटाउने र सुरक्षित गराउने काम गरिने आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिएका छन्।






