भोजपुरको २ वडा कार्यालयमा आगजनी

भोजपुर जिल्लाका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा आगजनी भएको हो।

पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको छ भने रामप्रसादराई–२ को वडा कार्यालय भने आगलागीबाट पूर्णरुपमा नष्ट भएको स्थानीयले बताएका छन्।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पठाइएको र घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिएका छन्।