अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्र प्रसाद रिजाललाई पदबाट निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ ।
ख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी रिजाललाई निलम्बन गर्न गृहमा लेखी पठाइएको जानकारी गराएका हुन्।
उनीविरूद्ध अनुसन्धान भइरहँदा पदमा बहाल रिजालले प्रमाण मेटाउने भन्दै आयोगले गृहसँग निलम्बन गर्न आग्रह गर्दै पत्र पठाएको जनाएको छ।
प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट गत हप्ता २१ हजार लिएको तथ्य सार्वजनिक भएपछि उनलाई गत शुक्रबार गृह मन्त्रालयमा तानिएको थियो।
यसअघि अख्तियारकै कर्मचारी समेत रहेका प्रजिअ रिजालले जनप्रतिनिधिमाथि हातपातको आरोपमा पक्राउ परेका लामा र तामाङसँग मुद्दा नचलाउने भन्दै सो रकम लिएका थिए।






