गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख चढ्ने सरकारी गाडीमा आगजनी भएको छ।

रावावेँसी गाउँपलिका अध्यक्ष लिलानाथ निरौला चढ्ने बा २ झ ३५२४ नम्बरको गाडीमा आगजनी भएको हो । रावावेँसी ५ दुवेकोलस्थित निवासमा पार्किङ गरेर राखिएको गाडी आगलागीबाट पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ।

‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ अध्यक्ष निरौलाले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।’करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो।

खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले जानकारी दिएका छन् ।