कोहलपुरमा तनावले उग्र रुप लिदै,१ विद्यार्थी १० प्रहरी घाइते

आइतबार बिहान ट्रकले बालिकालाई ठक्कर दिएपछि बाँकेको कोहलपुर क्षेत्र तनावग्रस्त बनेको छ ।

कोहलपुरमा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दको ना २ ख ९४५९ नम्बरको ट्रकले दुबै खुट्टा किचेर गम्भिर घाइते भएकी छिन् । बालिकालाई ठक्करदिने ट्रकमा सोही विद्यालयका विद्यार्थी र स्थानीयले आगजनी गरेका छन्।

प्रहरीले ट्रकका चालकलाई जोगाउन खोजेको भन्दै स्थानीय र विद्यार्थीले प्रहरी चौकी घेराउ गर्नुका साथै प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि उत्पन्न तनावले उग्र रुप लिएको छ ।

यसैबीच प्रहरीले चलाएको गोली लागेर त्रिभुवन माविमा कक्षामा ९ का विद्यार्थी सुशील थापा गम्भीर घाइते भएका छन् भने प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । घाइते भएकाहरुको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।