चितवनमा अटो दुर्घटनाहुदा ५ को मृत्यु १ घाइते

राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ भन १ जना गम्भीर घाइते भएका छन्।

शनिबार साँझ राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई दुर्घटना भएको हो ।

मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणि भण्डारी, राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का, राप्ती नगरपालिका–९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका–३ की ३९ वर्षीया मनमाया नेपाली रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी रहेका छन् ।घाइते गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सामूहिक वनभोजका लागि गएको र फर्कने क्रममा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् ।