ताजा समाचार

मंसिर १६ गते २०७६

यो सबैको जित हो : विद्या

कास्की २ की नेकपा सांसद विद्या भट्टराईले मतदातासँग गरेका प्रतिवद्धता नै आफ्ना मार्गदर्शन भएको जनाएकी छन् । उनले मतदातालाई धन्यवाद दिँदै जितको आफू पात्रमात्र भएको प्रतिक्रिया दिइन् । ‘मतदाताले पार्टीलाई विश्वास गर्नुभयो । मत दिनुभयो । ‘यो जितको म एउटा पात्र हो । जित तपाईंहरुको सबैको हो ।’

‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट जवाफ दिइन् । राष्ट्रिय चासोका रूपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार भट्टराई प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतान्तरले विजय हासिल गरेर राजनीतिमा आफ्नो पकड देखाइन् ।

भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका एक अभियानकर्मी अधिकारीले विकास र समृद्धिका लागि साँच्नुभएका सपना तथा आफ्ना योजनालाई पूरा गर्दै जनताको आफूमाथिको आशा र भरोसा टुट्न नदिएर राजनीतिक यात्रामा अघि बढ्ने विश्वास दिलाइन् । नेकपा कास्कीले सोमाबार आयोजना गरेको विजय सभामा उनले यस्तो जनाएकी हुन् ।

विसं २०२९ कात्तिक २९ मा काठमाडौँमा जन्मिएकी भट्टराईमा सानै उमेरमा राजनीतिक चेत थियो । उहाँ ७ कक्षा पढ्दा नै अनेरास्ववियुमा आबद्ध भइन् । विसं २०४२ मा पशुपति मित्र मावि, चावहिल काठमाडौँमा ७ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियुले आयोजना गरेको सरसफाइ आन्दोलन, हाजिरीजवाफ, वक्तृृत्वकला, वृक्षरोपण आदिमा सहभागी भएर उहाँले आफ्नो राजनीतिक यात्रा शुरु गरिन् ।

विसं २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भइन् । अखिल नेपाल महिला सङ्घको जिल्ला समिति काठमाडौँमा कोषाध्यक्ष हुँदै उनी तत्कालीन नेकपा ९एमाले०को सङ्गठित सदस्य बनिन् । २०४८ मा अनेरास्ववियु राष्ट्रिय परिषद्मा निर्वाचित भएकी विद्या १८ वर्षकै उमेरमा एमाले वडा कमिटी सदस्यसमेत भइन् ।

नेविसङ्घको वर्चस्व रहेको पद्मकन्या क्याम्पसमा २०४९ सालमा स्ववियु सभापतिमा उम्मेदवार थिइन् । विसं २०५० बाट अनेरास्ववियु महिला विभाग प्रमुखका रूपमा उनी क्रियाशील हुँदै २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव निर्वाचित भइन् । पार्टीको सिद्धान्त र विचारबाट निरन्तर अघि बढ्दै जाँदा एमालेका जुझारु युवा नेता अधिकारीसँग उहाँको निकटता बढ्यो । साथीभाइको शुभेच्छा र विचारको निकटाताले रवीन्द्र र विद्यालाई जीवनमा पनि एक हुन प्रेरित ग¥यो । उनीहरूले २०५६ साल असार २६ गते वैवाहिक जीवन थाले ।

विसं २०५८ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन थालेकी भट्टराई पछिल्लो समय त्रिविमा उपप्राध्यापक थिइन् । समाजशास्त्रमा एमफिल उनी प्राध्यापनबाट राजीनामा दिएर राजनीतिमा आएकी हुन् ।

सभामा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वकास र राष्ट्रियता बचाऊ अभियानमा कम्युनिष्ट पार्टीको विकल्प हुन नसक्ने भन्ने सन्देश उपनिर्वाचनले दिएको उल्लेख गरे । राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नीतिको पक्षमा जनताको अभिमत रहेको उल्लेख गर्दै उनले अर्को पटकको आम निर्वाचनमा नेकपाले दुई तिहाइ स्थानमा जीत हुने जनाए ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले जनताको अभिमतलाई व्यवहारमा उतार्नुपर्ने र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका सहइन्चार्य एवम् सांसद् खगराज अधिकारीले कास्की क्षेत्र नं २ को जीतलाई पार्टी एकताको समेत अनुमोदन गरेको तथा सङ्घीय, प्रदेश र स्थानीय सरकारले विकास र समृद्धिका लागि चालेका कदमलाई जनताले अनुमोदन गरेको रूपमा लिनुपर्ने धारणा राखे ।

नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले जीतलाई उन्मादका रूपमा नलिइएको र जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे । नेकपाका जिल्ला इन्चार्ज कृष्ण थापाले कास्कीलाई भ्रष्टाचारमुक्त र सामाजिक न्यायको जिल्ला बनाउनका लागि पार्टी सङ्कल्पित रहेको बताए ।

नेकपा कार्यकर्ताले पार्टी र पार्टीको चुनाव चिह्नको झण्डा बोकेर पोखरामा विजययात्रा गरेका थिए । महेन्द्रपुलबाट शुरु भएको विजय जुलुस बजार परिक्रमासहित नयाँबजारस्थित प्रदर्शनी केन्द्रको परिसरमा पुगेर सभामा परिणत भएको थियो ।