ताजा समाचार

मंसिर १६ गते २०७६

खेमराज भन्छन् : हारे पनि प्रतिवद्धता पूरा गर्न लाग्छु

कास्की क्षेत्र नं २ उपनिर्वाचनमा कांग्रेसको तर्फका उम्मेदवार खेमराज पौडेलले निर्वाचनका बेला जनताका बीच गरेका प्रतिवद्वता पूरा गर्न सदैव क्रियाशील बन्ने बताएका छन् ।

उम्मेदवार पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा प्राप्त सहयोग, सद्भाव र सहानुभूतिप्रति आभार व्यक्त गरेका हुन् । उनले निर्वाचनलाई सफल बनाउन खट्ने निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद दिए । नेता पौडेलले निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै अर्को निर्वाचनमा जनताले कांग्रेसलाई मत दिने बताए ।

पौडेलद्वारा जारी विज्ञप्तिमा निर्वाचित विद्या अधिकारी भट्टराईलाई बधाई ज्ञापन गर्दै रचनात्मक काममा सदैव सहयोग रहने उल्लेख छ । नेता पौडेलले चुनावी सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वृद्धाश्रम जानुपर्ने बेलामा भनेर आफूलाई होच्याए पनि देशभरका उमेरले पाका भएका बुबाआमालाई हेपे सिंगो कांग्रेस र आफूलाई मान्य नहुने बताए । पौडेलले जनताको आवश्यकता पूरा गर्न सधैं खटिरहने उल्लेखसमेत गरेका छन् ।

कास्की कांग्रेसको आभार
नेपाली कांग्रेस चुनाव प्रचार मूल समिति कास्कीले कांग्रेसको पक्षमा मतदान गर्ने मतदातालाई आभार प्रकट गरेको छ । समितिका संयोजक कृष्णबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाले सत्ताको दुरुपयोग गरी गरेका सबै हर्कत गरेको आरोप लगाउँदै त्यसका बाबजुद कांग्रेसलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

विज्ञप्तिमा निर्वाचनको बेला विभिन्न स्थानमा मतदातालाई आतंकित पार्ने गरी गरिएका बम विष्फोटका घटना र वडा प्रहरी कार्यालय बैदामका डिएसपीको सरुवाको निन्दा गरिएको छ । त्यस्तै, निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन कार्यालय, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारलाई धन्यवाद दिइएको छ ।

विज्ञप्तिमा निर्वाचन अवधिमा कास्की आएर सहयोग गर्ने पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय प्रतिनिधि डा. मीनेन्द्र रिजाल लगायत पार्टी केन्द्रका पदाधिकारी र केन्द्रीय सदस्यप्रति धन्यवाद व्यक्त गरेको छ ।

सभापति केष्ण केसीको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई सुदृढीकरण गर्नुको विकल्प नभएको जनाएको छ । केन्द्रीय प्रतिनिधि रिजालले बैठकपछि भने, ‘बलियो पार्टीमामात्रै हामी सबै सुरक्षित हुन्छौं, उनले भने, ‘सबै मिलेर पार्टीलाई सशक्त र मजबुत बनाउन जुटौं ।’