कास्कीमा शान्तिपूर्ण मतदान,४५ हजार मत खस्यो

कास्की २ मा प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत मतदान केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

यस क्षेत्रको कुल मतदातामध्ये ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । कास्की –२ मा ७१ हजार ८ सय ७१ मतदाता संख्यामध्ये उपनिर्वाचनमा करिब ६४ प्रतिशत अर्थात ४५ हजार जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए ।

उपनिर्वाचनमा पुरुष भन्दा ६ प्रतिशत अर्थात २ हजार ७ सय जना बढी महिला सहभागिता भएको उनले जनाए । उनका अनुसार महिला ५३ प्रतिशत अर्थात २३ हजार ८ सय ५० र पुरुष ४७ प्रतिशत अर्थात २१ हजार १ सय ५० मतदानमा सहभागी भए ।

जिल्ला समन्वय समितिमा पहिलो चरणमा २ ठाउँबाट मत गणना सुरु गर्ने भएकोे सहायक निर्वाचन अधिकृत उपाध्यायले बताए । उनका अनुसार आइतबार बेलुकासम्ममा सबैको साथ र सहयोग भएमा मतपरिणाम आउने छ ।

पोखरा महानगरभित्र का ११ वटै वडामा ३२ मतदान स्थलमध्ये ८२ मतदान केन्द्रमा छिटपुट घटना बाहेक सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकारी सुवेदीले बताए । कास्की २ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार शनिबार राति १० बजेदेखि मतगणना शुरु हुनेछ । निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायका अनुसार राति ८ बजेसम्ममा सबै मतपेटिका मत गणनास्थलमा ल्याइसक्ने र सर्वदलीय बैठक बसेर १० बजे मतगणना शुरु हुनेछ ।

सर्वदलीय बैठकमा शनिबार मतगणनाको निर्णय नभए आइतबार बिहानैबाट मतगणना हुनेछ । मतगणना जिल्ला समन्वय समितिको सभाहलमा हुनेछ । मतगणना स्थललाई सिसि क्यामेराको निगरानी र तारजालीले घेरेर सुरक्षित बनाइएको छ ।

यस्तै, नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा–३३ को शान्तिउदय मावि केन्द्रबाट मतदान गरेकी थिइन् । बिहान करिब ९ बजे उनले मतदान गरेकी थिइन् । यसैगरी पोखरा–७ को श्रीकृष्ण मावि केन्द्रबाट ९७ वर्षीय खुशीराम रेग्मीले पनि मतदान गरेका छन् ।

४ स्थानमा बम विस्फोट
उपनिर्वाचनका लागि मतगणना चलिरहँदा पोखराका विभिन्न ४ मतदान केन्द्रमा बम विस्फोट भएका छन् । बम विस्फोटबाट कुनै अप्रिय घटना र क्षति भने भएको छैन ।
पोखरा–१६ अन्तर्गत चण्डिका र शान्ति मावि मतदान केन्द्र नजिक बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै पोखरा ३३ को शान्ति उदय मावि र पोखरा ९ को नवप्रभात माविको मतदान केन्द्रमै बम विस्फोट भएको थियो । बम विस्फोट कस्ले गराएको भन्ने विषय अझै खुलेको छैन ।

२०० भन्दा बढी गाडी नियन्त्रणमा
कास्की क्षेत्र नं–२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका २ सय भन्दा बढी सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

अनुमति नलिएका गाडी समातिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका गाडीमध्ये अधिकांश मोटरसाकल रहेको बताइएको छ ।

आकस्मिक सेवाका एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत, खानेपानीका ट्याङ्कर र अत्यावश्यक सेवाका साथै अनुमति लिएका सवारी साधन भने सञ्चालन भएका थिए ।