कास्की मतदानस्थल नजिकै विस्फोट

प्रतिनिधिसभा सदस्य चयनका लागि आज (शनिबार) कास्की क्षेत्र नम्बर २ मा जारी उपनिर्वाचनको मतदानस्थल नजिकै बिहान बम विस्फोट भएको छ ।

पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ ।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकै कारण कास्की २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आज उपनिर्वाचन भइरहेको हो।

बम विस्फोटपछि कडा सुरक्षाबीच मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।